काठमाडौं । चितवनमा आगामी वैशाख १८ देखि २० गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुने भएको छ । सम्मेलन नेपाल इन्स्टिच्युट अफ मेण्टल हेल्थको आयोजनामा चितवन मेडिकल कलेजमा आयोजना हुँदैछ।
सम्मेलनका संयोजक तथा अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलले सम्मेलनको मुख्य उद्देश्य गाउँ–बस्तीका समुदायलाई मानसिक स्वास्थ्यप्रति सचेत गराउनु रहेको बताए ।
उनका अनुसार, 'मानसिक स्वास्थ्यको समस्याबाट प्रभावितमध्ये मात्र करिब १० प्रतिशतले मात्र उपचार पाउने गरेका छन्, र गाउँ क्षेत्रमा भने झन् उपचार पहुँच अत्यन्त न्यून छ । त्यसैले सम्मेलन ग्रामीण केन्द्रित बनाइएको हो ।'
सम्मेलनमा एक सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ भने मानसिक स्वास्थ्यसम्बन्धी घोषणापत्र पनि जारी गरिने आयोजकले जानकारी दिएको छ। यसअघि पहिलो सम्मेलन कर्णाली प्रदेशको जुम्लामा आयोजना गरिएको थियो ।
डा. पौडेलका अनुसार मानसिक स्वास्थ्यमा समान पहुँच र सेवा सुनिश्चितता आवश्यक भएकाले यस प्रकारका सम्मेलन नीति निर्माणदेखि जनचेतनामूलक पहलसम्मका लागि उपयोगी हुने विश्वास लिइएको छ ।