अब सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य, संसदबाट विधेयक पारित

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ । यसका लागि प्रतिनिधि सभाले ‘केही नेपाल ऐन संशोधन विधेयक’ पारित गरेको छ ।

अहिलेसम्म सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लाइसेन्सको अवधि ५ वर्ष थियो । तर, दफा ५४ को उपदफा ३ संशोधन गर्दै अब ‘पाँच वर्षसम्म’ भन्ने शब्दको सट्टा ‘दश वर्षसम्म’ भन्ने व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्था अनुसार लाइसेन्स नविकरण गर्दा पनि सीधा १० वर्षका लागि मान्य हुनेछ ।

यो विधेयक अघिल्लो सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको कार्यकालमा ल्याएको थियो । प्रतिनिधि सभामा २०८० वैशाख २६ मा दर्ता गरिएको यो विधेयक विषयगत समितिमा छलफलपछि २०८१ वैशाख १४ मा पुनः सभामा आएको थियो र अन्ततः मंगलबार प्रतिनिधि सभाबाट पारित भएको हो ।

अब विधेयक राष्ट्रिय सभामा जानुपर्ने, त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याइनेछ ।

Share News