काठमाडौं । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका निजलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रूपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो ।
सोही मुद्दामा लामो समय कारागार बसेका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा भएका थिए ।
उक्त आममाफी दिने निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । कडायत टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् ।
सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।
कडायतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् ।
रेशमकाे पक्राउलाई लिएर सीके राउत लगायतका नेताहरूले भर्त्सना गरेका छन् । प्रज्ञाप्रतिष्ठानमा एकैछिन नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नारासमेत लगाएका थिए ।