थुनामुक्त भए रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले चौधरीलाई छाड्न डिल्लीबजार कारागारलाई पत्र पठाएसँगै उनी थुनामुक्त भएका हुन् ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर चाैधरीलाई थुनामुक्त गर्न आग्रह गरेका थिए ।

यसअघि चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ । सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखिसकेको छ ।

सर्वोच्चले शाखा अधिकृत विष्टसँग स्पष्टिकरणसमेत लिई कानुन बमोजिमको कारबाहीको प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

पुर्ख्यौली घर दार्चुला भएका शाखा अधिकृत विष्टको पृष्ठभूमि विवादित रहेको पाइएको छ ।  कञ्चनपुर जिल्ला अदालतमा काम गर्ने बेलामा उनको वकिलसँग ठूलो विवाद परेको थियो । त्यसपछि सरुवा भएर सर्वाेच्चमा आएपछि पनि उनी बेलाबेलामा विवादमा आएका थिए ।

उनले आज बिहान आफै पत्र लेखी प्रहरी कार्यालय र डिल्लीबजार कारागारसमेत आफै पुगेका थिए ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनको पक्राउलाई लिएर सीके राउतलगायतका नेताहरूले भर्त्सना गरेका थिए । साथै प्रज्ञा प्रतिष्ठानमा नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नारासमेत लगाएका थिए । 

Share News