जनताले काम गरेपछि मात्रै विश्वास गर्छन्, अब बोलेर होइन कामबाट उपलब्धि देखिनुपर्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएका छन् । 

केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको आज उद्घाटन गर्दै उहाँले काम नतिजामुखी हुनुपर्नेमा जोड दिए । 

‘जनताले विश्वास काम गरेपछि मात्रै गर्ने हुन्  । अब बोलेर होइन कामबाट उपलब्धि देखिनुपर्यो तब मात्र जनताले विश्वास गर्छन्,’ उनले भने ।

पूर्वाधार निर्माणका क्रममा तीनै तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूमा समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए । 

उनले सरकार बजेट बनाउने समयमा रहेकाले आगामी बजेटमा यहाँको विकास निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताए । 

धार्मिक एवं ऐतिहासिक स्थलका रुपमा रहेको केदारनाथको पहिचान संरक्षण गर्दै शिव धामका रुपमा स्थापित गर्न महायज्ञ आयोजना गरिएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीप प्रताप खाँडले बताए । 

केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सह आयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही वैशाख २३ गतेसम्म सञ्चालन हुनेछ ।

Share News