महाप्रसाद नै बने गभर्नर सिफारिस समितिको सदस्य, समितिमा एमालेको बाहुल्यता

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकरीको आगमन भएको छ । निवर्तमान गभर्नर समेत रहेका उनलाई सरकारले सदस्यमा नियुक्त गरेको हो । 

समितिका सदस्य डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाइ सिफारिस समितिमा नियुक्त गरिएको हो । बुधबार बसेको मन्पिरिषद् बैठकले अधिकारीलाई सिफारिस समितिमा राख्ने निर्णय गरेको हो । उनी एमाले निकट मानिन्छन् । अब समितिमा एमालेको बाहुल्यता भएको छ । 

नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय भएको थियो । सरकारले अध्यक्ष पौडेलसँगै काँग्रेसको कोटाबाट विश्व पौडेल र एमालेको कोटाबाट डा. भट्टराईलाई सदस्य बनाएको थियो । तर, गभर्नर सिफारिस प्रक्रियामा ठूलो विवाद सिर्जना भएपछि भट्टराईले राजीनामा दिएका थिए । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा (२) बमोजिम गठन भएको समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्ने प्रावधान छ । छनोट समितिले गभर्नर नियुक्तिको सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्छ । मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एक जनालाई गभर्नर पदमा नियुक्त गर्छ । 
 
सिफारिस समिति बनेको लामो समय बितिसक्दा पनि सरकारले प्रक्रिया अगाडि बढाउन सकेको छैन । अहिले कार्यवाहक गभर्नरको रुपमा निलम ढुङ्गानाले जिम्मेवारी सम्हालिरहेकी छन् । उनी पनि गभर्नर बन्ने दौडमा छिन् भने अन्य व्यक्तिहरु पनि शक्तिकेन्द्र धाइरहेका छन् । तर, सत्तारुढ दल नेपाली काँग्रेस र एमालेबीच गुणाकर भट्टलाई गभर्नर बनाउने सहमित भएको बुझिएको थियो । त्यसपछि भट्टको योग्यता नपुग्ने भन्दै अदालतमा रिट दायर भएको थियाे । तर, बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालका इजलासले उक्त पूरक निवेदनलाई अस्वीकार गरेको छ ।  कामु गभर्नर ढुङ्गानाले उनको राजीनामा भने स्वीकृत गरेकी छैनन् । 

Share News