काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताए ।
श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरे ।
श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन सफल भइरहेको बताए ।
श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै भने, ‘आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस । देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।’
श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य र ट्रोलहरू सहनुपरेको उनको भनाइ छ ।
तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका उनको दाबी छ ।
अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित भएको उनले बताए ।