काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालनमा आएसँगै भनसुन र पहुँचका भरमा पाइने रोजगारीको अन्त्य हुने दाबी गरेका छन् ।
एक सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित शुभकामना कार्यक्रम र ‘श्रम संसार’ पोर्टलको शुभारम्भ समारोहमा बोल्दै मन्त्री भण्डारीले नेपालमा वर्षौंदेखि रोजगारी सिफारिस र सञ्जालको भरमा मिल्ने परिपाटी रहेकाले युवामा निराशा बढेको बताए ।
'अब जोसँग सीप र क्षमता छ, उसैले रोजगारी पाउने अवस्था सिर्जना गरिनेछ,' मन्त्री भण्डारीले भने । उनले सीपको अभावका कारण नेपाली श्रमिकले रोजगारी नपाएको र विदेशी श्रमिकले त्यही काम गरिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
प्रत्येक वर्ष झण्डै पाँच लाख श्रमिक श्रम बजारमा प्रवेश गर्ने भए पनि दक्ष जनशक्ति नहुँदा उनीहरूले रोजगारी पाउन सक्दैनन् । 'हामीसँग भएको सीपयुक्त काम चाहिँ बाहिरका मान्छे आएर गरिरहेका छन्,' मन्त्रीले भने ।
सरकारले अबको एक दशकभित्र नेपालका श्रमिकलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिक विस्थापन गर्ने लक्ष्य राखेको उनले स्पष्ट पारे ।
श्रम संसार पोर्टलले रोजगारदाता र श्रमिकबीच सिधा सम्पर्कको माध्यम बन्ने विश्वास पनि उनले व्यक्त गरे । 'अब भौतिक झन्झट हटाएर प्रविधिमार्फत श्रम सेवामा पहुँच विस्तार हुन्छ,' मन्त्री भण्डारीले भने ।