१६ बैंकका कर्मचारीहरूको तलब बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । ९ महिनामा वाणिज्य बैंकका कर्मचारीहरूको तलब सवा २ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा बैंकहरूले कर्मचारीहरूको तलब ६.०६४ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बढाएर ४३ अर्ब ६३ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेका हुन् । गत वर्षको चैतमा २० वटा वाणिज्य बैंकले कर्मचारीहरूलाई ४१ अर्ब १४ करोड ९५ लाख रुपैयाँ तलब बापत भुक्तानी गरेका थिए ।

समीक्षा अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएका छन् । यस अवधिमा १६ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ४ वटा बैंकको कर्मचारी खर्च घटेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

समीक्षा अवधिमा सबैभन्दा धेरै एनएमबि बैंकले कर्मचारीहरूको तलब खर्च बढाएको देखिन्छ । बैंकको ३५.५७ प्रतिशत बढेर २ अर्ब २३ करोड ८० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको छ । जबकि गत वर्षको चैतमा १ अर्ब ६५ करोड ८ लाख रुपैयाँ मात्रै कर्मचारीहरूलाई भुक्तानी गरेको थियो ।

राष्ट्र बैंकका अनुसार हिमालयन बैंकको २४.६५ प्रतिशत बढेर २ अर्ब ४८ करोड १६ लाख रुपैयाँ, प्राइम बैंकको २०.३९ प्रतिशत बढेर १ अर्ब २९ करोड ४९ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.४५ प्रतिशत बढेर २ अर्ब ८६ करोड ७७ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबि) बैंकको ८.७८ प्रतिशत बढेर २ अर्ब ३६ करोड ११ लाख रुपैयाँ कर्मचारीहरूको तलबमा खर्च गरेका छन् । 

यस्तै, एनआईसी एशिया बैंकको ८.३६ प्रतिशत बढेर २ अर्ब ५४ करोड ६ लाख रुपैयाँ, सानिमा बैंकको ७.९२ प्रतिशत बढेर १ अर्ब २३ करोड ४२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ७.१७ प्रतिशत बढेर १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ६.६६ प्रतिशत बढेर २ अर्ब ६ करोड ४० लाख रुपैयाँ कर्मचारीहरूलाई तलब वितरण गरेका छन् । 

प्रभु बैैंकको ६.५४ प्रतिशत बढेर २ अर्ब ७९ करोड ३२ लाख रुपैयाँ, सिटिजन्स बैंकको ४.८९ प्रतिशत बढेर १ अर्ब ३० करोड ३ लाख रुपैयाँ, एभरेष्ट बैंकको ४.६६ प्रतिशत बढेर १ अर्ब ३६ करोड ३० लाख रुपैयाँ, नेपाल बैंकको २.७१ प्रतिशत बढेर २ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ कर्मचारीहरूलाई तलब बापत भुक्तानी गरेका छन् । 

राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमई बैंकको २.०५ प्रतिशत बढेर २ अर्ब ९४ करोड ७५ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ०.६४ प्रतिशत बढेर १ अर्ब १५ करोड २९ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.३१ प्रतिशत बढेर ७८ करोड ९७ लाख रुपैयाँ कर्मचारीहरूलाई तलब खर्च गरेका हुन् । 

तर, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र कृषि विकास बैंकले भने कर्मचारीहरूको तलब खर्च घटाएका छन् । समीक्षा अवधिमा नबिल बैंकको तलब खर्च सबैभन्दा धेरै घटेको देखिन्छ । नबिल बैंकको ५.४३ प्रतिशत घटेर २ अर्ब ८५ करोड २७ लाख रुपैयाँ तलब खर्च गरेको छ । गत वर्षको चैतमा यस बैंकले ३ अर्ब १ करोड ६६ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । 

यस्तै, कुमारी बैंकको ०.७७ प्रतिशत घटेर ३ अर्ब ५ करोड ४० लाख रुपैयाँ र कृषि विकास बैंकको ०.१५ प्रतिशत घटेर २ अर्ब ७४ करोड ५८ लाख रुपैयाँ तलब खर्चमा भुक्तानी गरेका छन् । 

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीहरूको तलबमा ३ अर्ब १४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । जुन बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै रकम हो । गत वर्षको चैतमा बैंकले ३ अर्ब २७ करोड ८० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको थियो ।null

Share News