काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल बक्यौता प्रत्येक वर्ष बढ्दै गएको छ । महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार प्राधिकरणको बक्यौता ८.८८ प्रतिशतले बढेको हो ।
विद्युत महसुल बक्यौता गत वर्षको तुलनामा यो वर्ष ८.८८ प्रतिशतले वृद्धि भई ४८ अर्ब २६ करोड रुपैयाँ पुगेको महालेखा कार्यालयकको प्रतिवेदनमा उल्लेख छ ।
उक्त रककमध्ये ट्रंकलाइन तथा डेडिकेटेड लाइनमार्फतको ५९ ग्राहकबाट विगत वर्षको असुल हुनुपर्ने २३ अर्ब ४४ करोड रुपैयाँ रहेको उल्लेख छ भने सो रकम कुल बक्यौताको ४८.५७ प्रतिशत देखिन्छ । यस अतिरिक्त सडकबत्तीको ६ अर्ब ८९ करोड असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, प्राधिकरणका कार्यकारी हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको देखाए पनि महालेखाको प्रतिवेदनले प्राधिकरण नाफामा नै रहेको उल्लेख गरेको छ ।
महालेखाको प्रतिवेदनमा प्राधिकरणको कुल नाफा २६ अर्ब ७२ करोड ६७ लाख ७७ हजार, सञ्चालन नाफा २१ अर्ब ८० करोड २५ लाख ९४ हजार, करअघिको नाफा १४ अर्ब ४६ करोड ५३ लाख ३५ हजार, करपछिको खुद नाफा १० अर्ब ५२ करोड ७१ लाख ५ हजार र कुल विस्तृत आम्दानी २ अर्ब १२ करोड २४ लाख २ हजार रुपैयाँ देखाएको छ ।