काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।
नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
खनालले अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको बताएका छन् । ‘पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । शनिबार बिदा भएकाले आइतबारदेखि आवश्यक कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
यसैबिच, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अमालकोट कचहरीभित्रै जुवातास खेल्नेहरू पक्राउ परेको सूचना आफूले पाएको बताएका छन् । डा. थापाले प्रहरी अनुसन्धान सकिएपछि कोषको कर्मचारी सेवा नियमावलीअनुसार कारबाही अघि बढाइने प्रस्ट पारेका छन् ।
‘सात जनामध्ये को दोषी को निर्दोष भन्ने कुरा प्रहरी अनुसन्धानपछि थाहा हुने नै छ । कोषको आफ्नै नियमावली छ । पशुपतिनाथ मन्दिर परिसरमै जुवातास खेल्नेमाथि नियमावलीअनुसार कारबाही हुन्छ,’ डा. थापाले भने ।