भैरहवा विमानस्थल छानबिन : संसदीय उपसमितिको संयोजकमा मञ्जु खाँण

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे अध्ययन गर्न बनाइएको संसदीय उपसमितिको संयोजक नेपाली कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् । 

उपसमितिको आइतबार बसेको बैठकले खाणलाई संयोजक चयन गरेको हो ।

विमानस्थल निर्माणका क्रममा भएको अनियमितता र भ्रष्टाचार छानबिन गर्न नेकपा एमालेका सांसद योगेश भट्टराईको नेतृत्वमा उपसमिति बनाइएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले पूर्वमन्त्रीसमेत रहेका भट्टराई संयोजक हुँदा प्रश्न उठ्ने बताएका थिए । 

त्यसपछि भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू उपसमिति संयोजकमा नबस्ने बताएका थिए ।

यसअघिको बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीको नाम प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि खाणलाई संयोजक चयन गरिएको हो । 

आजको बैठकमा भट्टराई र  झा दुवै अनुपस्थित थिए । यसैगरी, बैठकले भैरहवा विमानस्थलको अध्ययन भ्रमण गर्ने निर्णय पनि गरेको छ ।

Share News