काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमारसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालीन अर्थमन्त्रीसहित आठ जनाले मिलोमत्तोमा ५६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सार्वजनिक सम्पत्ति हिनामिना गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध आयोगले सरकारी सम्पत्ति हानी, नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको हो।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्लाहीको वागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन इन्जिनियर निरन्जन लामिछाने, तत्कालीन इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल छन् ।
दायर गरिएको मुद्दामा तत्कालीन मन्त्री विजय कुमारसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रुपैयाँ, तत्कालीन नगरप्रमुख भरतकुमार थापासँग ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ, तत्कालीन उपप्रमुख लीलाकुमारी मुक्तानसँग ५६ करोड ७१ लाख सात हजार २९२ रुपैयाँ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसँग ५६ करोड ७१ लाख सात हजार २९२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै, तत्कालीन इन्जिनियरहरू निरन्जन लामिछानेसँग १० करोड १४ लाख ९५ हजार रुपैयाँ र सागर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२ रुपैयाँ, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेलसँग ५६ करोड तीन लाख ३४ हजार ४०४ रुपैयाँ र तत्कालीन कानुन अधिकृतसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा संघीय सरकार र मधेस प्रदेश सरकारको करोडौं रकम माछापोखरी निर्माण गरिएको थियो । त्यस क्रममा ठूलो मात्रामा अनियमितता भएको अनुसन्धानबाट देखिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिविना वन क्षेत्रमा विकासका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नमिल्ने भए पनि उनीहरूले उक्त कार्य गरेको अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।