कुनै समय नाक खुम्च्याउने अस्पतालमा बिरामीको चाप

काठमाडौं । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको छ ।

नगर अस्पतालको सेवामा विविधतासँगै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईँले बताइन् । 

‘चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ । नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ,’ उनले भनिन् । 

निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको नगर प्रमुख प्रसाईँले बताइन् । अहिले नगर अस्पताल १५ शय्याको छ । यसलाई २५ शय्याको बनाउने लक्ष्य रहेको छ । नगर अस्पताललाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ । 

नगर अस्पतालबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेका नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रालोले बताए ।  अस्पतालले चाँडै डायलाइसिस सेवा सञ्चालन गर्न लागेको छ । ६ वटा डायलाइसिस मेसिन दाताबाट प्राप्त भएको उनको भनाइ छ ।

नगरपालिकामा एक नगर अस्पताल र ८ वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । ३ करोड ९६ लाख रुपैयाँको लागतमा ८ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन् । 

१५ करोड ३४ हजार रुपैयाँको लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको नगर प्रमुख प्रसाईँले बताइन् । भवन निर्माण भएपछि १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गरिने छ । 

आधारभूत स्वास्थ्य केन्द्रबाट १२७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले बताए। नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत हालसम्ममा ८९ हजार ७६४ जनाले स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ ।

बिर्तामोड नगर क्षेत्रमा घरमा प्रसूति गराउनेको दर ‘शून्य’मा झरेको प्रमुख विष्ट बताउँछन् । नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ । अस्पतालमा चिकित्सकसहित ६० जनाको जनशक्ति रहेको छ । 

Share News