काठमाडौं । नेपालले विदेशमा श्रम गर्न गएका कामदारहरूको सम्पूर्ण स्वास्थ्योपचारको जिम्मेवारी सम्बन्धित रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वदेश फर्किएपछि जानकारी दिँदै भने, 'यो प्रस्ताव आगामी वर्ष हुने डब्ल्युएचओको विश्व स्वास्थ्य सम्मेलनमा प्रस्तुत गरिनेछ ।' सो प्रस्तावले कामदारको उपचार खर्च, स्वदेश फर्किएपछि रोग बोकेर आउनुपर्ने अवस्थाबाट छुटकारा दिलाउने विश्वास व्यक्त गरे ।
उनले भने, 'कामदार जानु अघि, गइसकेपछि र फर्किएपछि सम्बन्धित राष्ट्रले नै स्वास्थ्य परीक्षण, उपचार र जानकारी उपलब्ध गराउनुपर्ने प्रणाली निर्माण गर्नुपर्छ । धेरै कामदार उपचार नपाएर अकालमै फर्किन्छन् वा खर्चकै कारण जीवन गुमाउँछन्, यो अन्त्य हुनुपर्छ ।'
यसपटकको सम्मेलनमा महामारीसँग सम्बन्धित प्रस्ताव सर्वसम्मतिले पारित भई डब्ल्युएचओले अब अनिवार्य रूपमा प्रभावित देशलाई सहायता गर्नुपर्ने व्यवस्था पनि बनेको छ । मन्त्री पौडेलका अनुसार प्रस्ताव पास भएमा नेपाल लगायत अन्य श्रमिक पठाउने देशहरूलाई ठूलो राहत हुनेछ ।
पौडेलले भारत, चीन, बेलायत, श्रीलंका, बंगलादेश, नर्वे र स्विट्जरल्याण्डका प्रतिनिधिहरूसँग स्वास्थ्यसम्बन्धी समझदारी र छलफल भएको बताए ।