बालबालिकाको आँखाको क्यान्सर र मायोपिया समयमै चिन्न डाक्टरहरूको आग्रह

काठमाडौं । नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह (मे ११-१७) र विश्व मायोपिया सचेतना सप्ताह (मे १९-२५) का अवसरमा काठमाडौंसहित देशभरका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरूमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिष्ठान परिसरमा सचेतना डेस्क स्थापना, भिडियो सामग्री प्रदर्शन, सामाजिक सञ्जाल प्रयोग र विभिन्न जिल्लामा रेडियोमार्फत जनचेतना फैलाउने कार्य गरिएको हो ।

प्रतिष्ठानले रेटिनोब्लाष्टोमा अर्थात् बालबालिकाको आँखामा हुन सक्ने क्यान्सरको समयमै पहिचानको खाँचो औंल्याएको छ । अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभाग प्रमुख डा. पूर्णिमा राजकर्णिकारका अनुसार अँध्यारो कोठामा खिचिएको तस्बिरमा आँखाको कालो भागमा सेतो टिका देखिनु, आँखा रातो हुनु, दुख्नु, आकार ठूलो हुँदै जानु वा आँखाको दिशा असमान्य हुनुजस्ता लक्षण देखिए रेटिनोब्लाष्टोमाको संकेत हुन सक्छ ।

यस सन्दर्भमा प्रतिष्ठानले ओपन आइज नेपालसँग सहकार्यमा बालबालिकालाई लक्षित गरी निःशुल्क ओपीडी सेवा, उपचार र प्रोस्थेसिस सफाइ सेवा प्रदान गरेको थियो। यो सेवा वैशाख २८ देखि जेठ ३ गतेसम्म सञ्चालनमा रहेको थियो ।

प्रतिष्ठानले जेठ ५ देखि ११ गतेसम्म मायोपिया सम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यस वर्षको नारा : 'स्क्रिन तल, आँखामाथि' अर्थात् स्क्रिन तल राखौं, दृष्टि माथि उठाऔं र मायोपियाबाट बचौं ।

डा. सिर्जना अधिकारीका अनुसार बालबालिकालाई नियमित आँखा परीक्षण गराउनु, हरेक दिन २ घण्टा बाहिरी गतिविधिमा सहभागी गराउनु, स्क्रिनको प्रयोग सीमित राख्नु तथा '२०-२०-२० नियम' (हरेक २० मिनेटमा, २० फिट टाढा, २० सेकेन्ड हेर्ने) अपनाउनु आवश्यक छ । विद्यालय भर्ना अघि अनिवार्य आँखाको परीक्षण गरिनु पर्ने सुझाव पनि उनले दिएकी छन् ।

Share News