भारत र चीनमा तीव्र रुपमा फैलिँदै कोरोना, नेपालमा त्रास

काठमाडौं । भारत, चीन लगायत दक्षिण एसियामा केही दिन यता कोभिड १९ संक्रमण फैलिएको छ । छिमेकी देशमा तीव्र रुपमा कोरोना संक्रमण फैलन थालेपछि नेपालमा पनि त्रास बढेको छ । खुला सीमाका कारण आवत जावतमा रोकतोक नहुँदा नागरिक त्रसित बनेका हुन् । 

अहिले भारतका १६ राज्य यो संक्रमण तीव्र रुपमा फैलिएको छ । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन अहिलेको अवस्था हेर्दा डराइहाल्नुपर्ने नभएपनि सचेत रहन भने आवश्यक रहेको बताउँछन् । ‘नेपालमा अहिले कोरोना संक्रमण भएको व्यक्ति भेटिएको छैन, भोलि पर्सी देखिन्छ कि त्यो हेर्दै जानुपर्ला तर, नेपालमा हाम्रो अस्पतालमा कोरोना संक्रमण भएको हामीले फेला पारेका छैनौं,’ डा. पुन भन्छन्, ‘विगतको अनुभव छ भारतमा देखियो भने नेपालमा ढिलो चाँडो आउन सक्ने सम्भावना भने रह्यो नै, यसका लागि तयारी व्यक्ति आफैंबाट गर्नुपर्छ ।’

भारतमा देखिएको कोरोना नेपालमा फैलिएको छ या छैन भनेर यत्तिकै भन्न सकिने अवस्था छैन । यसका लागि सिक्वेन्सिङ गर्नुपर्छ । तर नेपालमा यो सिक्वेन्सिङ गरिएको छैन । डा. पुन भारतमा देखिनु भनेकै नेपालमा सर्तक रहनुपर्ने अवस्था भएको बताउँछन् । 

अहिले अस्पतालमा कोरोनाको जाँच गर्न कुनै व्यक्ति जाँदैनन् । कुनै दीर्घ रोगीलाई त्यस्तै लक्षण देखापर्यो  कोरोनाको आशंका लागेमा मात्र जाँच गर्ने चलन छ । बिरामीले कोरोना जाँच गर्न छोडेसँगै नेपालमा कोभिडका एक जना पनि बिरामी छैनन् । 

भारत लगायत दक्षिण एसियामा देखिएको कोरोना खासै घातक नभएको डब्लुएचओले जनाएको छ । डा. पुन यसका लागि सबै नागरिक आफै सचेत रहनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले सम्म घातक छैन भनिएको छ भोलिपर्सि के हुन्छ भन्न सकिँदैन, कुनै रोग लाग्न दिनुभन्दा लाग्नै नदिनु भनेजस्तै सबैले सचेत चाहिँ रहनै पर्छ ।’

नेपालमा तयारी के हुँदैछ

अहिले घातक नदेखिएको कोरोनाले भेरियन्ट परिवर्तन गर्दा भोलि घातक हुन सक्ने सम्भावना रहेको विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. पुन  विगतमा नेपालले कोरोनाबाट ठूलो जनको क्षती पुर्याइरहेको अवस्थामा सामान्य छ भन्दैमा हलका रूपले लिन नहुने बताउँछन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण एसियामा देखिएको कोरोनालाई मध्यनजर गर्दै कुनै तयारी नगरे पनि संक्रामक जन्य रोग नियन्त्रणका लागि कसरी अघि बढ्ने भन्ने विषयमा भने आइतमात्र छलफल गरेको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्त बहादुर केसीले बताए ।  उनी भन्छन्, ‘हामीले कोरोनाकै लागि भनेर केही तयारी गर्न सकेका छैनौं, अहिले भारत चीनमा कोरोना तीव्र रुपमा फैलिरहेको भन्ने कुरा आएको छ, अब यसको लागि पनि कसरी अघि बढ्ने भन्ने विषयमा भोलि पर्सी छलफल हुन सक्छ ।’ उनले यसमा छलफल गरेर यो यो काम यसरी गर्ने भन्ने यकिन कार्ययोजना भनेर सरकारले नबनाएको बताए । 

सीमा नाकामा हेल्थडेस्कको बिजोग

कोभिड १९ को महामारीका बेला नेपालले सिमानाकामा हेल्थ डेस्क निर्माण गरेको थियो । कोरोना संक्रमण सेलाएसँगै नाकामा रहेका हेल्थ डेस्कको अवस्था पनि बिजोग भएको छ । लाखौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका हेल्थ डेस्क अहिले अलपत्र अवस्थामा छन् । सूचना अधिकार डा. केसी हेल्थ डेस्क पहिलेदेखिनै रहेकाले तिनैलाई प्रयोग गरी सीमामा कडाइ गर्ने योजना मन्त्रालयले गर्न सक्ने बताउँछन् ।  सरकारले नेपाल भारत १४ वटा सीमामा हेल्थ डेस्क स्थापना गरेको थियो भने चीन र नेपालको सीमामा दुईवटा हेल्थडेस्क सञ्चालनमा ल्याएको थियो ।  हेल्थ डेस्कको मुख्य उदेश्य सिमानाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नु थियो । यसो गर्दा कोभि १९ संक्रमतिको संख्या कम गर्न सकन्छ ।  

भारत चीनमा देखिएको कोराना कस्तो हो ?

अहिले भारत चीन लगायत दक्षिण एशियामा देखिएको कोभिड १९ को एनबी.१.८.१ र एलएफ.७ भेरियन्ट हो । यी भेरियन्ट भारतमो तमिलनाडु, गुजरात, महाराष्ट्र, र केरलामा देखिएको छ । भारतमा मात्र १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीमा मात्र १ सय ४ जनामा कोरोना पुष्टि भएको छ । एनबी.१.८.१ भेरियन्टमा ए४३५एस, भी ४४५एच र टी४७८आइ जस्ता स्पाइक प्रोटिन म्युटेसनहरू छन् । एलएफ.७ भेरियन्ट पनि जेएन.वान  समूहको उपभेरियन्ट हो । यसले पनि संक्रमणदर वृद्धि गरिरहेको छ । चीनमा पनि एनबी.१.८.१ भेरियन्ट देखिएको छ । त्यहाँ पनि संक्रमणदर वृद्धि भइरहेको छ । भारत र चीन दुवै देशमा संक्रमण दर वृद्धि भएपनि घातक भने त्यति नरहेको समाचारहरूमा जनाइएको छ ।

Share News