बजेट : 'स्वास्थ्यमा खर्बको आश, ९५ अर्बमै सीमित'

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि सरकारले ९५ अर्ब ८१ करोड रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ९५ अर्ब ८१ करोड रकम विनियोजन गरेको हो । यो रकम चालु आर्थिक वर्षभन्दा बढी भए पनि अपेक्षाअनुसार भने आउन नसकेको मन्त्रालयका पदाधिकारी बताउँछन्।

स्वास्थ्य मन्त्रालयले यो वर्ष १ खर्ब बजेट पाउने आशा गरेको थियो । प्रवक्ता डा. प्रकाश बुढाथोकीले अपेक्षा अनुसारको बजेट नआएको प्रतिक्रिया दिए । 

‘यो गरिने छ, उ गरिने छ भनेर सबै कुरा समेटियो तर, ती कार्यक्रमका लागि कति बजेट आयो भन्ने कुराले बजेट कस्तो आयो भन्न सकिन्छ,’ उनी भन्छन्, 'विस्तार गरिने छ भनेर त्यसमा पाँच, लाख, ६ लाखमात्र वितरण गरेर हुँदैन ।  पुग्ने गरी बजेट छुटिएको रहेछ भने राम्रो छ ।'

बुढाथोकी बजेट कुन विषयमा कति आयो भनेर पुरै नहेरी अहिले नै कमेन्ट गर्न नसकिने बताउँछन् । 

राष्ट्रिय योजना आयोगले जुन ८३ अर्बको सिलिङ गरेकोमा बजेट बढेर आउँदा खुसी लागेको उनी बताउँछन् । 

सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा ८६ अर्ब २४ करोड रुपैयाँ पाएको थियो । जुन कुल बजेटको ९४.६६ प्रतिशत रहेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने स्वास्थ्य क्षेत्रको क्षेत्रमा कम्ती १० प्रतिशत बजेट हुनुपर्ने बताउँदै आएको छ ।

Share News