काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने भएकोले आफ्ना सांसदहरुलाई डटेरै अगाडि बढ्न निर्देशन दिएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा बोल्दै उनले बजेटमाथिको छलफलमा प्रतिपक्षसँग डटेरै तथ्यगत रुपमा छलफल गर्न निर्देशन दिएका हुन् ।
‘बजेटको विषयमा नोट बनाएर अध्ययन गर्नू, चार/पाँच घण्टा समय अध्ययनमा लाग्छ । सरर् पढ्दा दुई घण्टा १२ मिनेट समय लागेको थियो, अध्ययन गरेर विशलेषण गर्दा चार/पाँच घण्टा लागिहाल्छ,’ ओलीले बैठकमा भने, ‘तर्कपूर्ण तथ्यपूर्ण ढंगले बैठकमा बोल्नू ।’
उनले सांसदह्रुलाई आफ्ना विषय र विज्ञतासँग सम्बन्धित भएर छलफमा उपस्थित हुन निर्देशन दिए । भोलिदेखि विनियोजन विधेयकमा छलफल गर्नुपर्छ, कसैले सैद्धान्तिक विषयमा छलफल गर्नुपर्छ, आफू जुन समितिमा हुनुहुन्छ, त्यही विषयमा केन्द्रीत भएर छलफलमा भाग लिनू,’ ओलीले एमाले सांसदलाई भने ।
मन्त्रीहरुलाई ब्यूरोक्र्याटले सहयोग गर्ने भए पनि अन्य सांसदले भने राम्रै गृहकार्य गर्नुपर्ने उनको राय छ । ‘अहिले सबै मिलेर सरकारलाई असफल बनाउन लागिरहेका छन् । सरकारका राम्रो कामको प्रशंसा गर्न सक्दैनन् । राम्रा काम सुन्नै नचाहनेहरु कानमा घण्टी झुण्ड्याएर बसेका छन्, संसद चल्न नदिने कुरा सुनिएको छ,’ उनले भने, ‘बैठकमा दुई/चार जना कराउँदैमा संसद अवरुद्द हुँदैन, आफ्नै गतिमा अगाडि बढ्छ, त्यसका लागि तयार रहनू ।’
विरोधीहरुले होकि क्याहो भन्ने गरी कुर्तकहरु राख्ने गरेको टिप्पणी गर्दै ओलीले ती कुतर्कको दह्रो गरी प्रतिवाद गर्नुपर्ने अभिव्यक्ति दिए । उनले एमालेका सांसदलाई तथ्य र तथ्यांकसहित खण्डन गर्न निर्देशन दिए ।
‘तुलनात्मक रुपमा राम्रो नतिजा ल्याएका छौं । सबै क्षेत्रमा राम्रा र सकारात्मक काम गरेका छौं । यस पटक बजेट बेग्लै चुनौतीका माझ ल्याएका छौं, विरोधीहरु जस्तो बजेट ल्याए पनि आलोचना गर्छन् तर हामीले खण्डन र प्रतिवाद गर्न सक्नुपर्छ,’ उनले भने ।
उनले देशलाई ओरालो लाग्नबाट बचाएर राम्रो बाटोमा लिन सफल भएको धारणा राखे । ‘धेरै बिग्रिएको हुनाले ठूलो खाल्डोलाई पुर्न सफल भएका छौं । अर्थतन्त्रलाई सही दिशामा लिनका लागि काम गरेका छौं,’ उनले भने ।