ग्राण्डी अस्पतालमा स्कोलियोसिसबारे सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ढाडको बांगोपनासँग सम्बन्धित स्कोलियोसिस विषयमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्कोलियोसिसको शल्यक्रिया गराएका बिरामी र तिनका आफन्त, अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो ।

जुन महिनालाई विश्वभर स्कोलियोसिस जनचेतना महिनाका रूपमा मनाइँदै आएको छ । सोही सन्दर्भमा ग्राण्डीले पनि वार्षिक रूपमा यस्तो कार्यक्रम गर्दै आएको हो ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले स्कोलियोसिस मुख्यतः १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा देखिने र छोरीहरूमा यसको सम्भावना बढी हुने बताए ।

उनका अनुसार स्कोलियोसिसको लक्षणहरूमा लुगा नमिल्नु, एकातिरको कुम उचो देखिनु, ढाड तिर बाङ्गोपनाको अनुभूति हुनु लगायत रहेका छन् ।

बेलैमा उपचार नगरे यसले फोक्सो र मुटुमा असर पुर्याउन सक्ने भन्दै डा. विजुक्छेले समयमै निदान र उपचार गर्नुपर्नेमा जोड दिए । नेपालमा स्कोलियोसिसको शल्यक्रिया सन् २००६ बाट सुरु भएको जानकारी पनि दिइयो ।

कार्यक्रममा सहभागी बिरामी र आफन्तहरूले शारीरिक र मानसिक रूपमा भोगेका अनुभव तथा उपचारपछि जीवनमा आएको सकारात्मक परिवर्तनबारे धारणा राखे ।

Share News