काठमाडौं । सुन व्यवसायीले आज र भोलि सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेका छन् । पसल बन्द गर्ने निर्णयसँगै अधिकांश व्यवसायीहरूले पसल बन्द गरेर सडकमा निस्केका छन् ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा-जवाहरात जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लागू गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै पसल नै बन्द गरेर विराेधमा निस्केका हुन् ।
सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर शाक्यले महासंघको सल्लाहअनुसार जिल्ला, नगरभित्रका व्यवसायीहरूले आज र भोलि पसल बन्द गरेका हुन् ।
उनले ९० प्रतिशत व्यवसायीले आज र भोलि पसल बन्द गर्ने दाबीसमेत गरे ।
केही दिनअघि पनि व्यवसायीहरूले सरकारी कार्यालयमा गएर शान्तिपूर्ण आन्दोलन गरेका थिए ।
दुई दिन पसल बन्द गरेपछि व्यवसायीहरू सरकारसँग छलफलमा जाने र त्यसपछि केही भएन भने ३ गते बैठक बस्ने र ४ गते राष्ट्रिय भेला गर्ने तयारी रहेको उनले बताए ।
व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले सुनमा लगाइएको कर खारेज गर्न र व्यवसायीमैत्री नीति बनाउन माग गरेका छन् ।
सुनमा विलासिता कर : मूल्य बढेर उपभोक्ता भारत पस्ने डर, व्यवसायी पलायन हुने चिन्ता
तस्बिरहरू :






