काठमाडौं । करिब २५ वर्षदेखि फलफुल व्यवसायमा सक्रिय कँडेल फ्रुट्सले ‘फलफ्रुट्स’ ब्राण्डमार्फत देशभर ५० वटा आउटलेट विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
सोल्टीमोड चोकमा पहिलो आउटलेट सञ्चालनमा ल्याइसकेको कम्पनीले आगामी पाँच वर्षभित्र लक्ष्य पुरा गर्ने बताएको छ ।
कम्पनीका सञ्चालक अग्नि कँडेलका अनुसार आउटलेट विस्तारको योजना देशभर फलफुलको सहज आपूर्तिलाई व्यवस्थित गर्न गरिएको हो ।
'दैनिक खानपानमा फलफुलको भूमिका अत्यन्त महत्वपूर्ण छ। स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले हामीले फलफ्रुट्सको औपचारिक सेवा सुरु गरेका हौं,' कँडेलले भने ।
उनका अनुसार प्रत्येक आउटलेटको स्थापना लागत करिब १० लाख रुपैयाँ हुने अनुमान गरिएको छ, जहाँ ५ जनासम्मले रोजगारी पाउनेछन् ।
इच्छुक व्यक्ति वा समूहले आउटलेट सञ्चालन गर्न चाहेमा कम्पनी आफैंले व्यवस्थापन सहयोग उपलब्ध गराउनेछ ।
कँडेलका अनुसार फलफ्रुट्सले नेपालमै उत्पादन हुने सिजनल फलफुललाई विशेष प्राथमिकतामा राख्नेछ । 'हामीले देशका विभिन्न गाउँ र समुदायसँग सहकार्य गर्दै उत्पादनदेखि वितरणसम्मको सञ्जाल विस्तार गर्ने योजना बनाएका छौं,' उनले भने ।
यसका लागि कम्पनीले ग्रामीण क्षेत्रमा उत्पादन, व्यवस्थापन र बिक्री साक्षरतासमेतको अभियान सुरु गरिसकेको जानकारी पनि उनले दिए ।
नजिकिँदो भविष्यमा कम्पनीले इ(कमर्समार्फत उपभोक्ताको घरमै सेवा पुर्याउने योजना बनाएको छ । 'हालको सुरुआती यात्रा हामीले ट्रायलको रूपमा लिएका छौं । यसलाई निरन्तरता दिँदै निकट भविष्यमै ‘फ्रुट्स क्याफे’ सहितको आधुनिक आउटलेट सञ्चालनमा ल्याउने तयारीमा छौं,' सञ्चालक कँडेलले बताए ।
उनले विदेश पलायन नै अन्तिम विकल्प हो भन्ने मानसिकता तोड्ने उद्देश्यले पनि यो अभियान थालिएको उल्लेख गरे । 'स्वदेशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश फैलाउने अभियानस्वरूप हामी अघि बढिरहेका छौं,' कँडेलले भने ।