काठमाडौं । उपचारमा लापरबाही भएको ठहर गर्दै उपभोक्ता अदालतले काठमाडौंको चावहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
९८ वर्षीय हरिप्रसाद गौतमको मृत्यु भएपछि उनका छोरा बसन्त गौतमले ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा हालेका थिए ।
अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यहरू गेहेन्द्रराज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासले बिहीबार फैसला सुनाउँदै अस्पताल र सम्बन्धित चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
अदालतले अस्पताललाई ८० प्रतिशत अर्थात् ४० लाख ५६ हजार रुपैयाँ र घटनामा संलग्न दुई चिकित्सकलाई जनही ३ लाख ५ हजारका दरले बाँकी २० प्रतिशत रकम तिराउन आदेश दिएको छ ।
२०७८ माघ ५ गते बाथरुममा लडेका हरिप्रसाद गौतमलाई ओम अस्पतालको आपतकालीन कक्षमा चार दिनसम्म उपचार गरिएको थियो । परिवारका अनुसार सामान्य जाँचपछि एक्सरे गरेर केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर औषधि लेखी डिस्चार्ज गरिएको थियो ।
तर, चार दिनपछि समेत दुखाइ कम नभएपछि उनलाई अर्को निजी अस्पतालमा लग्दा खुट्टामा फ्र्याक्चर देखिएको थियो । बसन्त गौतमले समयमै सही उपचार नगरी लापरबाही गर्दा थप स्वास्थ्य समस्या उत्पन्न भई पिताको ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेका थिए ।