काठमाडौं । नेपाल राष्ट्र बैंकले आईएमई पे र खल्तीबीचको मर्जरका लागि राष्ट्र बैंकले आधिकारिक रूपमा स्वीकृति दिएको छ ।
देशका दुई प्रमुख डिजिटल वालेट प्लेटफर्महरू एकीकृत हुने यो कदम नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो पटक हो ।
यस एकीकरणपछि नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ ।
गाभिएपछि खल्ती एपमार्फत सेवा दिने यस संयुक्त संस्थाले सबैभन्दा ठूलो चुक्ता पूँजी र ५० लाखभन्दा बढी प्रयोगकर्ताको आधारमा नेपालकै सबैभन्दा बलियो डिजिटल वालेट बन्ने अपेक्षा गरिएको छ । यसले नेपालको फिनटेक क्षेत्रमा ठूलो फड्को मानिएको छ ।
अब सबै सेवा एकीकृत गरी खल्ती एपमार्फतै उपलब्ध हुनेछन् ।
दुवै वालेटका वर्तमान प्रयोगकर्ताले केवल एक क्लिकमा सजिलै नयाँ प्रणालीमा समाहित हुन सक्नेछन् भने नयाँ प्रयोगकर्ताले खल्ती एप डाउनलोड गरी अझ व्यापक सेवाहरू उपयोग गर्न सक्नेछन्। 
यस मर्जरले विशेषगरी ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानी पहुँच विस्तार गरी राष्ट्र बैंकको वित्तीय समावेशीकरणको उद्देश्यलाई सहयोग गर्ने विश्वास गरिएको छ ।
खल्ती एपले भविष्यमा संसारभरबाट रेमिट्यान्स प्राप्ति, बैंक खाता खोल्ने सुविधा, भिसा कार्ड जारी गर्ने र ऋण सुविधा जस्ता नयाँ फिचरहरू समेत ल्याउने योजना बनाएको छ ।
नगदरहित कारोबारको माग बढ्दै गइरहेका बेला डिजिटल वालेट दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको छ । सहरी क्षेत्रमा सीमित रहेको विद्युतीय भुक्तानी सेवा अब गाउँघरसम्म विस्तार गर्ने यस कदमलाई निर्णायक मानिएको छ ।
आईएमई पे मात्र प्रयोग गर्नेहरूले पनि सजिलै खल्तीमा रूपान्तरण गर्न सक्नेछन् र सबै ब्यालेन्स तथा रिवार्डहरू सुरक्षित रहनेछन् । यो रणनीतिक सहकार्यले फिनटेक क्षेत्रमा प्रतिस्पर्धा र नवीनतालाई अझै तीव्र बनाउने, लगानी र प्रविधिको विकासलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।