गोरखामा सानिमा बैंकले गर्‍यो नि:शुल्क स्वास्थ्य शिविर, २५० बढीले लिए सेवा

काठमाडौं । सानिमा बैंकको पूर्ण आर्थिक सहयोगमा गोरखा नगरपालिका- ७, डण्डीडाँडा स्वास्थ्य केन्द्रमा शनिबार नि:शुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । गोरखा शाखाले शिविरको व्यवस्थापनसमेत गरेको थियो ।

बैंकको पहलमा आयोजित शिविरमा दुई सय पचासभन्दा बढी व्यक्तिले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन् । विशेषगरी निम्न आय वर्गका बिरामीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा स्त्रीरोग, छाती, मुटु तथा पेट रोग विशेषज्ञहरूबाट परामर्श र उपचार प्रदान गरिएको थियो । साथै, भिडियो एक्स-रे (युएसजी), सुगर परीक्षण लगायतका सेवा पनि उपलब्ध गराइएको थियो ।

शिविरमा १४९ जनाको युएसजी परीक्षण, ९९ जनाको सुगर परीक्षण गरिनुका साथै अन्य विविध परामर्शहरू प्रदान गरिएको थियो । डा. रवि रेग्मी (स्त्रीरोग), डा. रजिनिश मानन्धर (छाती, मुटु तथा पेटरोग), डा. आकृति सापकोटा लगायतका विशेषज्ञ चिकित्सकहरूमार्फत स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको बैंकले जनाएको छ ।

सानिमा बैंकले केही महिना अघि गोरखाको शहीद लखन गाउँपालिका-घैरुङमा पनि यस्तै नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको थियो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय जनतालाई लक्षित गरी यस्ता कार्यक्रमहरू गर्दै आएको छ ।

स्थानीय बासिन्दाहरूले विशेषज्ञ डाक्टरबाट सेवा पाएकोमा खुसी व्यक्त गर्दै सानिमा बैंकको प्रशंसा गरेका छन् । गोरखा जिल्लाको शक्तिचोकमा सानिमा बैंकको शाखा कार्यालय अवस्थित छ ।

Share News