पेवेल र सजिलो पेमा ग्राहकको लाखौं रकम होल्ड, फिर्ता पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्नेगरी दिइएको अनुमति खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी तथा फर्स्यौट ऐन, भुक्तानी तथा फर्स्यौट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधान उल्लङ्घन गरेको पाइएपछि लाइसेन्स खारेज गरिएको हो ।

यी दुई वालेट कम्पनीमा ग्राहकको १५/२० लाख रुपैयाँ बचत रहेको राष्ट्र बैंक स्रोतले बताएकाे छ । उक्त रकम ग्राहकले कहिले पाउँछन् ? कसरी फिर्ता पाउँछन् भनेर चासोका रूपमा हेरिएकाे छ । 

नेपाल राष्ट्र बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता किरण पण्डितका अनुसार दुई कम्पनीको सेटलमेन्ट गर्ने काम कुमारी बैंकको थियो । कुमारी बैंकमार्फत ग्राहकहरुको (जसको प्रणालीमा इमोनी) रकम फिर्ता गर्नका लागि एक/दुई दिनभित्रमा सूचना निकाल्ने उनले बताए ।

ग्राहकले पनि आफ्नो बचत रहेको रकम फिर्ता पाउने गरी कुमारी बैंकमा जानकारी निवेदन दिनुपर्ने र सोही आधारमा फिर्ता हुने उनको भनाइ छ । 

‘ग्राहकले मेरो इमोनी यति थियो भनेर प्रमाण देखाउनु भयो भने बैंकले सहज रुपमा दिनेछ । तत्कालीन समयको कुन ग्राहकको कति रकम थियो भन्ने तथ्याङ्क कुमारी बैंकसँग छ होला । दुइटै कम्पनीमा पनि छ,’ पण्डितले भने, ‘मेरो यति रकम थियो भनेर ग्राहकले माग्नु भयो भने फिर्ता हुनेछ । कसरी सेटलमेन्ट गर्ने विषयमा कुमारी बैंकले सूचना निकाल्छ ।’ 

उनका अनुसार व्यापारिक लेनदेन, संस्थागत हिसाब किताब कानुन बमोजिम हुन्छ । अहिलेलाई ग्राहकको इमोनी मात्रै फिर्ता गर्ने हो । 

कुमारी बैंकका सहायक सूचना अधिकारी अर्पण पौडेलले राष्ट्र बैंकको निर्देशन अनुसार वालेटमा रहेको रकम छिट्टै भुक्तानी गर्ने बताए ।

हालसम्म कुनै निर्देशन आइनसकेको र राष्ट्र बैंकको निर्देशनका आधारमा अघि बढ्ने उनको भनाइ छ । 

यी दुई कम्पनी यसअघि ६१ किलो सुन तस्करीमा मुछिएका थिए । कम्पनीमा सुन तस्करीमा संलग्न रहेका आरोपीहरूको करिब ३ अर्बको कारोबार देखिएको सीआईबीले जानकारी दिएको थियो ।

त्यतिबेला राष्ट्र बैंकले यी दुई कम्पनीमा रहेका सम्पूर्ण खाताहरू रोक्का गरिएको जानकारी पनि गरेको थियो । यी दुई कम्पनीबाट नै बैंकिङ प्रणालीमा रकम जाने गरेको देखिएको थियो । यी दुई कम्पनीमा आवद्ध केही कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।  

Share News