स्वास्थ्य क्षेत्रमा १२ हजार दक्ष जनशक्ति पुर्‍याउने सरकारको योजना छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा दशकौँदेखि हुन नसकेको संगठन तथा व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाएको दाबी गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । 

उनले प्रत्येक वर्ष दुई हजार पाँच सय स्वास्थ्य जनशक्ति थप्ने लक्ष्यसहित अबको पाँच वर्षमा कुल १२ हजार दक्ष जनशक्ति पुर्याउने सकारको योजना रहेको बताए । सातै प्रदेशमा एक/एक वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सघन जलन उपचार, मुटु, मिर्गौला प्रत्यारोपण तथा क्यान्सरजस्ता विशिष्ट सेवा उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी दिए । 

उनले मधेस प्रदेशमा विशेष सुविधा सम्पन्न मिर्गौला उपचार केन्द्र स्थापना गर्ने तथा काठमाडौंमा आधुनिक सुविधासहितको राष्ट्रिय न्युरो उपचार केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।

मन्त्री पौडेलका अनुसार संघीय अस्पतालहरूको सुदृढीकरण अन्तर्गत कोशी अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ति र भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल पाटन, संक्रामक रोग अस्पताल टेकु, पोखरा स्थित आयुर्वेद तथा प्राकृतिक चिकित्सा अस्पताल, नरदेवी आयुर्वेद अस्पताल लगायतका पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।

मन्त्री पौडेलले भने, ‘ठूला संघीय अस्पतालहरु कोशी अस्पताल, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, मानसिक अस्पताल पाटन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल टेकु, पोखरा मा आयुर्वेद योग तथा प्राकृतिक चिकित्सा सहितको अस्पताल, नरदेवी आयुर्वेद अस्पताल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।’

उनले सरकार उपचारमुखी सेवामात्र नभई नागरिकमा रोग लाग्न नदिन पूर्व–तयारी तथा रोगको रोकथामका कार्यक्रमहरूमा समेत सन्तुलित लगानी गर्न प्रतिवद्ध रहेको स्पष्ट पारे । 
 

Share News