काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
हाल नेपालमा १ सय ८७ जना कोरोना संक्रमितहरू रहेका छन् भने २५ जिल्लामा कोरोना फैलिएको छ ।
प्रदेशगत हिसाबमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा १ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा २५, कोशी प्रदेशमा ७ मधेस प्रदेशमा ५ जनालाई कोरोना संक्रमण भएको छ भने लुम्बिनी प्रदेशमा ४, गण्डकीमा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी प्रदेशमा संक्रमित एक जनाको भने मृत्यु भएको छ । नेपालमा पुष्टि भइरहेको कोरोना भारत, चीन र अन्य दक्षिण एसियामा फैलिएको कोरोना नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालमा अहिले पुष्टि भइरहेको कोरोना ओमिक्रोनकै सब भेरियन्ट रहेको बताए । ‘यो भेरियन्टमा नयाँ होइन जुन नेपालमा पहिल्यै देखिसकिएको थियो,’ उनी भन्छन्, ‘यो भेरियन्ट त्यति कडा नभएकाले आत्तिनुपर्ने अवस्था छैन ।’
अहिले भारत चीन लगायतका अन्य मुलुकमा कोभिड १९ को एनबी १.८.१ र एलएफ ७ भेरियन्ट फैलिरहेको छ । बाहिर फैलिएको यो भेरियन्ट पनि जोखिम नरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसअघि नै बताइसकेको छ ।
कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु भएका संक्रमित महिला रहेको खुलेको छ । इलामको सूर्याेदया नगरपालिकाकी ३९ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
७ दिन अगाडि श्वासप्रस्वासको समस्या देखिएपछि ती महिलालाई झापाको बिर्तासिटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालमा पुर्याइयो । अस्पतालको सघन कक्षमा लैजाँदै गर्दा उनको मृत्यु भएको नोवेल अस्पतालले जनाएको छ ।
अस्पतालका एक चिकित्सकले भने, ‘यही अस्पतालमा कोरोना पुष्टि भएको होइन, बिर्तासिर्टीबाट रेफर गरिएको केश थियो, जसमा कोरोना संक्रमित पनि भनिएको थियो तर यहाँ आईसीयूमा राख्न खोज्दा मृत्यु भयो ।’
मृतक महिलालाई अस्पतालले मङ्गलबार नै प्रहरीको जिम्मा लगाइएको थियो । स्वास्थ्य मन्त्रालयले भने मृत्यु भएकी महिलाको केशको विषयमा अध्ययन भइरहेको बताएको छ ।
‘समाचार कोरोनाको कारण मृत्यु भयो भन्ने आएको छ, यो विषयमा मन्त्रालयले भेरिफाइड गर्ने काम गरिरहेको छ,’ प्रवक्ता बुढाथोकी भन्छन्, ‘हामीले पाएको सूचनाका आधारमा ती महिलामा हेपाटाइटिस बी र किड्नीको समस्या भएको रहेछ । ९ दिन पहिले नै बिरामी हुँदा एक दिन अगाडिमात्र कोरोना संक्रमण भनिएकोले प्रमाणित गर्न हामी लागिरहेका छौं ।’
मन्त्रालयको कस्तो छ तयारी ?
कुनै पनि विपद महामारी कतिबेला आउँछ थाहा हुँदैन । हजारौंको संख्यामा ज्यान लिसकेको कोरोना फेरि फैलियो भन्ने सुन्नेबित्तिकै नागरिकहरू त्रसित हुन्छन् । तर अहिलेको अवस्थामा कोरानोको त्रास लिएर बस्नुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
प्रवक्ता बुढाथोकी अहिलेको संक्रमण संख्यालाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको तर यो भन्दैमा बेवास्ता गरेर नहिँड्न आग्रह गर्छन् । ‘कोरोनाबाटमात्र होइन, विभिन्न किसिमका सरुवा जन्य रोगबाट बच्न माक्स अनिवार्य लगाउनुपर्छ,’ उनी भन्छन्, ‘भेट हुँदा हात नमिलाउने, माक्स लगाउने, कसैलाई रुघाखोकी लागेको भए टाढै बस्ने गर्नुपर्छ ।’
सम्भावित जोखिमका लागि कसरी काम गर्ने भन्ने विषयमा औषधी, आवश्यक जनशक्ति सबै तयारी राखिएको छ भने इमरजेन्सी मेडिकल टिम र रिप्रेजेन्टिटिभ टिमसमेत तयारी अवस्थामा राखेको बुढाथोकीले बताए ।
‘तत्कालको अवस्था हेरेर जोखिम हुन्छ भन्ने छैन तर महामारी हो कुन बेला कस्तो रूप लिन्छ थाहा हुँदैन । त्यसैले यसका लागि आवश्यक सामाग्री, औषधी, चिकित्सक सबैको जोहो र व्यवस्था गरेका छौं,’ उनले भने ।
डा. बुढाथोकीले मन्त्रालयले योभन्दा बाहेक जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नेदेखि प्रभावित क्षेत्रबाट आएका मान्छेलाइ क्वारेन्टीनमा राख्ने काम गरिरहेको बताए ।
१७ वटा नाका र तीनवटा हवाइ नाका छन् । अहिले प्रभावित क्षेत्रबाट आएका सीमानाकाका हेल्थ डेस्कमा कोरोनाको टेस्ट पनि भइरहेको छ ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिलेको अवस्था हेर्दा डराइहाल्नुपर्ने नभएपनि सचेत रहन भने आवश्यक रहेको बताउँछन् । ‘विगतको अनुभव छ भारतमा देखियो भने नेपालमा ढिलो चाँडो आउन सक्ने सम्भावना छ । हामी अहिले नै तयारीको अवस्थामा रहनुपर्छ । तर डराइहाल्ने स्थिति भने अहिले छैन,’उनले भने ।