सम्धीले तिरे माधव नेपालको धरौटी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेमा रहेको पतञ्जलि जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि पूर्व प्रधानमन्त्री नेपाल मुद्दा खेपिरहेका हुन् ।

बुधबारको थुनछेक बहसपछि अदालतले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश दिएपछि उनले धरौटी रकम बुझाएका थिए । 

सोझा तथा इमान्दार नेताका रूपमा परिचित नेपालको धरौटी रकमको चाँजो उनका सम्धीसमेत पूर्वमन्त्री सोमप्रसाद पाण्डेले मिलाएको स्रोतले जनाएको छ । 

पाण्डे नेकपा एकीकृत समाजवादीका सचिव हुन् । उनी पाल्पाको अर्गली निवासी हुन् । 

उक्त धरौटी रकमका लागि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा संलग्नता रहेको भन्दै नेपालसहित ९३ जना व्यक्तिहरूमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो । आयोगले अध्यक्ष नेपाल विरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको थियो । उनको सांसद पद पनि निलम्बित भएको छ । 

२०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। । तर पछि हदबन्दीभन्दा बढी कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो । 

Share News