उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र चिकित्सकलाई ५७ लाख बढीको जरिवाना

काठमाडौं ।  उपभोक्ता अदालतले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई जरिबाना तिराएको छ । 

उपभोक्ता अदालतले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । 

सेवाग्राही वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराएकी थिइन् । 

वर्षाले दायर गरेको मुद्दाअनुसार चिकित्सकले दुईपटक अपरेसन गरेका थिए । तर निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी हुन् । 

अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आन्दराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। 

अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ  डा. सञ्जीव त्रिपाठी र ३० प्रतिशत अर्थात् १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डीसिटी हस्पिटलले बेहोर्नुपर्ने छ । 

क्षतिपूर्ति भराउने फैसला गरेको अदालतले जनाएको छ । मुद्दामा अदालतले लापरबाहीको तुलनात्मक दायित्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।

Share News