१० महिनामा मणिपाल शिक्षण अस्पतालले गर्‍यो पौने २ अर्ब आम्दानी

काठमाडौं । नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालि (मणिपाल शिक्षण अस्पताल) ले १० महिनामा पौने २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । पर्यटकीय राजधानी पोखरामा रहेको मणिपाल एजुकेसनले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (सन् २०२५) मा १ अर्ब ८४ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । 

आर्थिक वर्ष सन् २०२४ मा मणिपाल एजुकेसनले १ अर्ब ८८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ७ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो । 

कम्पनीले सन् २०२० मा १ अर्ब १० करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब २२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले विगतको तुलनामा पछिल्लो समय आफ्नो आम्दानीमा वृद्धि गरिरहेको तथ्याङ्कले देखाउँछ । 

कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले अल्पकालीन ऋण ५७ करोड रुपैयाँका लागि केयर एनपी एफोर रेटिङ प्रदान गरेको छ भने दीर्घकालीन ऋण १ अर्ब ९३ करोड रुपैयाँका लागि इक्राएनपी एलडबल बी रेटिङ प्रदान गरेको छ ।

पोखरामा अवस्थित मणिपाल एजुकेसन एन्ड मेडिकल एमबीबीएस कार्यक्रमका लागि सन् १९९४ मा स्थापना स्थापना भएको हो । यस कलेजमा भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, सिंगापुर, थाइल्याण्ड, मध्यपूर्व, केन्या, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अष्ट्रेलिया र न्युजिल्यान्डलगायत विभिन्न देशका विद्यार्थीहरू रहेका छन् । 

कम्पनीमा अटोवेज समूहको ८३ प्रतिशत र बतास समूह १७ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष आनन्द राज बतास रहेका छन् भने सञ्चालकमा शान्तराज बतास, नारायण पौडेल, प्रमेश पराजुली रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल ओडुभिल रहेका छन् । ३ सय शय्या क्षमताको मणिपाललाई ५ सय शय्याको बनाउने गरी काम भइरहेको कम्पनीले जनाएको छ । 

Share News