काठमाडौं । साेमबार देशभरका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका छन् । अस्पताल तथा चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले केही अस्पताल तथा चिकित्सकलाई जरिवाना फैसाला गरेकोमा असन्तुष्टी जनाउँदै चिकित्सकहरूले आन्दोलन गरेका हुन् ।
नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक चरणबद्ध आन्दोलनमा उत्रेका हुन् । संघको घोषित कार्यक्रम अन्तरगत असार २२ गते आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिएका थिए ।
साेमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने र चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय बुझाउने कार्यक्रम रहेको चिकित्सक संघले जनाएको छ ।
बिरामी मर्कामा
अस्पतालमा ओपीडीसेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् । दैनिक ६ सयभन्दा बढी बिरामी उपचारका लागी पुग्ने वीर अस्पताल ठप्प हुँदा बिरामीहरू मर्कामा परेका छन् । टिकट काउन्टर नै बन्द हुँदा बिरामीहरू आएर गेटबाटै फर्किन थालेको अस्पतालका सूचना अधिकारी सिताराम खड्काले बताए ।
उनले भने, ‘चिकित्सकहरू सबै आन्दोलनमा छन्, उपचार गर्नेहरू नै नआएपछि बिरामीलाई सेवादिने कुरै भएन ।’ वीरमा ओपीडी बाहेक अन्य आकस्मिक सेवा भने सुचारु रहेका छन् । उता शिक्षण अस्पताल महाराजगञ्जमा पनि आकस्मिक बाहेकका सबै सेवा ठप्प रहेका छन् । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले ओपीडीसेवा बिहानैदेखि ठप्प रहेको बताए ।
उपभोक्ता अदालतको आदेशले चिकित्सकहरू मानसिक र शारीरिक रुपमा उपचार गर्न सक्षम नरहेको भन्दै उपस्थित् नहुँदा उपचारसेवा ठप्प भएको उनले बताए । रोस्यारले ओपीडीसेवा बन्द हुँदा दैनिक २ हजार ५ सय भन्दा बढी सख्यामा अस्पताल पुग्ने बिरामीलाई मार परेको बताएका छन् । यी बाहेक अन्यसबै सरकारी र निजी अस्पतालको सेवा पनि आज ठप्प रहेको छ।