दर्जनौं गाडी बगायो, रसुवागढी हाइड्रोमा क्षति, १५ जना सम्पर्क विहीन

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२  टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात वटा गाडी बगाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका करिब सात वटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ । 

बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । खोलामा बाढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

बाढी बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएकोे छ ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका-२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।

भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको र अन्य १५ जना सम्पर्क विहीन रहेको सहायक प्रजीअ ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । 

प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ । 

Share News