रसुवामा आएको बाढीले २०० मेगावाट विद्युत उत्पादन बन्द

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नेपाल विद्युत् प्राधिकरण तथा त्यस अन्तर्गतका परियोजनाबाट उत्पादन हुँदै आएको झण्डै २०० मेगावाट विद्युत् आपूर्ति रोकिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएको छ । साथै, आयोजनासम्म पुग्ने पुलमा पनि क्षति पुगेको छ, जसका कारण यातायात पूर्ण रूपमा बन्द छ । टेलरेसमा भौतिक क्षति नभए पनि माटो र गेग्रान थुप्रिएको छ । यद्यपि पावरहाउस सुरक्षित रहेको उनले जानकारी दिए ।

उनले भने, ‘६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा पनि बाढी पसेको छ । भवनमा पानी पसेको भए पनि क्षतिको विस्तृत विवरण आइसकेको छैन । त्रिशूली ३ बी सबस्टेसन हिलोले पुरिएको छ र आयोजना पूर्ण रूपमा बन्द गरिएको छ ।’

त्यस्तै, त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एक बाइपास टावर बाढीले बगाएको उनको भनाइ छ । 

यी सबै आयोजनाबाट उत्पादन बन्द भएकोले त्रिशूली करिडोरमा सञ्चालित कुल २०० मेगावाट विद्युत् उत्पादन ठप्प भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता ढकालका अनुसार यो प्रारम्भिक विवरण मात्र हो, विस्तृत मूल्याङ्कनपछि थप क्षतिको विवरण आउनेछ ।

Share News