काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा भएको ठूलो क्षतिको स्थलगत अवलोकन गर्न अर्थमन्त्री विष्णु पौडेल मंगलबार बाढी प्रभावित क्षेत्रमा जाँदैछन् ।
उनीसँगै अर्थसचिव घनश्याम उपाध्याय र भन्सार विभागका महानिर्देशक महेश भट्टराई पनि रसुवा जान लागेका छन् । भ्रमणका लागि आवश्यक हेलिकोप्टर व्यवस्थापन गर्न अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको छ ।
गएराति आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। हालसम्म कम्तीमा १८ जना बेपत्ता छन् भने २ जनाको शव फेला परेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ९ जनाको उद्धार गरेका छन् ।
बाढीले क्षति पुर्याएको बेलामा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र प्रहरी प्रमुख डीएसपी हेम शाही काठमाडौंमा थिए । उनीहरू गृह मन्त्रालयद्वारा आयोजित बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन राजधानी आएका थिए ।
सरकारी टोलीको स्थलगत निरीक्षणपछि राहत, पुनर्निर्माण र भविष्यमा जोखिम न्यूनीकरणका उपायहरूबारे आवश्यक निर्णय लिइने अपेक्षा गरिएको छ ।