काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्म शोधनान्तर स्थिति झण्डै ५ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको छ ।
यस्तै, चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसैगरी, समीक्षा अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ कोएघार महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ६७ अर्ब ३० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो ।