रसुवाका सहायक सीडीओलाई ६ प्रश्न : कसरी आयो बाढी ? कति भयो क्षति ?

रसुवामा आएका बाढीले ठूलो जनधनको क्षति भएको छ । प्रारम्भिक तथ्यांकअनुसार हालसम्म १८ जना सम्पर्कविहीन छन् । हामीले रसुवाको बाढीमा केन्द्रित रहेर रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीसँग संक्षिप्त कुराकानी गरेका छौं । 

बाढीले रसुवामा के कस्तो क्षति गर्यो ? 

नेपाल चीन जोड्ने मितेरी पुल बगाउँदा नेपाल र चीनबीचको सम्पर्क पूर्णरुपमा टुटेको छ भने रसुवा गढीबाट स्याफ्रुबेंसी जाने बाटो समेत अवरुद्ध भएको छ ।  यस्तै, रसुवागढी जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेको छ  । जलविद्युतमा पनि ठूलो क्षति पुगेको छ । रसुवागढी भन्सार कार्यालयको सुख्खा बन्दरगाहमा रहेका इलेक्ट्रिक भेहिकल तथा मालबाहक कन्टेनरहरू बगाएको छ । तर कति बगायो भन्ने अहिलेसम्म यकिन छैन । प्रहरी तीन जना, कामदार तथा मजदुर ९ जना र चिनियाँ ६ जना सहित १८ जना सम्पर्कविहीन भएका छन् भने बाढीको बिचमा फसेका २१ जनाको उद्धार गरिएको छ । रसुवागढी हाइड्रोको केही कर्मचारी सुरक्षित बसेको अवस्था छ भने उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विपद व्यवस्थापनको टोली खटिरहेको छ । 

बाढीले कति क्षति भयो होला, केही अनुमान लगाउन सकिन्छ ? 

अहिले तत्काल रकमको हिसाब गर्न सकिँदैन । तत्काल मानवीय क्षति कम कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित भएकाले तत्काल यति रकम बराबरको धनको क्षति भयो भने भन्न सकिने अवस्था छैन ।

घटनाबारे तपाईंहरूलाई कसरी जानकारी भयो ?

घटना बिहान तीन बजे भएको हो । त्यहाँ नजिकै रहेका शसस्त्र  र प्रहरी चौकीले जानकारी दिएपछि थाहा भएको थियो । त्यस्तो बाढी आउने भन्ने कुनै पूर्वानुमान पनि थिएन  । राति त्यस्तो मौसम पनि थिएन तर एक्कासि यस्तो खबर आयो । तर, हामीले वर्षाको समयमा जतिबेला जे पनि हुन सक्ने भन्दै सतर्क रहन नागरिकलाई जानकारी भने गराइरहेका थियौं । 

अहिले बेपत्ताको खोजी कार्य कसरी गरिरहनुभएको छ ?

उद्धारको लागि जिल्लाको सम्पूर्ण जनशक्ति खटेको छ । प्रमुख जिल्ला अधिकारी पनि आफै घटनास्थलमा पुग्नुभएको छ भने भने सुरक्षा निकायका सबै प्रमुख लगायत सबै स्थानी जनसमुदाय सबै घटनास्थलमा पुगिसक्नुभएको छ । तत्काल पूर्ण रुपमा मानवीय क्षति न्यून गर्नका लागि हामी लागिरहेका छौं । प्रभावित क्षेत्रका स्थानीयहरूलाई सुरक्षित रुपमा राखिसकेको अवस्थामा छ भने सम्भावित जोखिम हुन सक्ने स्थानका स्थानीयलाई पनि सुरक्षित स्थानमा राखिसकेकाले अहिले त्रासको अवस्था छैन । तर  वर्षायाममा जोखिम चाहिँ हुने सम्भवना धेरै भएकाले सतर्क रहनुपर्छ । 

मितेरी पुल बगाउँदा कुनै वैकल्पिक बाटो प्रयोग गरिने अवस्था छकि छैन ? 

तत्काल वैकल्पिक बाटोको सम्भावना छैन । नेपाल र चीनको सम्पूर्ण सम्पर्क टुटेको छ । अहिले वैकल्पिक बाटो भन्दा पनि बेपत्ताको खोजी र के कति क्षति भयो भन्ने विवरण खोजिरहेका छौं । मौसम अहिले पनि राम्रो नहुँदा काममा भने चुनौती देखिन्छ । 

बाढी कसरी आयो भन्ने केही अनुमान छ ?

पानी परेरै बाढी आयो वा कुनै ताल फुटेर बाढी आयो भन्ने विषयमा अहिले फरक व्यक्तिका फरक धारणा आइरहेका छन् । चीनमा वर्षा भएर नेपालमा बाढी आएको पनि हुन सक्छ । वा कुनै ताल फुटेर पनि बाढी आएको हुन सक्छ । यो विषयमा पनि तत्काल यही कारण हो भन्न सकिदैन । यो विषयमा पनि अध्ययन र अनुसन्धान गरेपछिमात्र थाहा हुन्छ ।
 

Share News