ओम मेगाश्रीले जडान गर्‍यो ३५० किलोवाटको सौर्य विद्युत्, हरितगृह ग्यास घटाउँदै

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित उद्योग परिसरमा ३५०.३५ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरेको छ । ऊर्जा आत्मनिर्भरता र वातावरणमैत्री औद्योगिक उत्पादनतर्फको यो कदमले कम्पनीलाई यस क्षेत्रमा उदाहरणीय बनाएको छ ।

‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ अघि बढेको कम्पनीले सौर्य ऊर्जा प्रयोगमार्फत उद्योगको सञ्चालन खर्च घटाउने, उत्पादन लागत कम गर्ने र त्यसको प्रत्यक्ष लाभ मुनाफा प्रवाहमार्फत लगानीकर्तासम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासनको अनुमति प्राप्त गरिसकेको कम्पनीले ६३७ वटा प्यानल प्रयोग गरी सौर्य प्रणाली जडान गरेको हो । यस प्रणालीले विशेषगरी पिक आवर (उच्च माग हुने समय) मा नवीकरणीय ऊर्जाबाट औद्योगिक गतिविधि सञ्चालन गर्न मद्दत पुर्याउनेछ ।

कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँगको समझदारीमा अतिरिक्त विद्युत् बिक्री गरी आम्दानीको नयाँ स्रोत सिर्जना गर्ने योजना पनि अघि सारेको छ ।

हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने यस कदमले ओम मेगाश्रीलाई वातावरणमैत्री तथा दीगो औद्योगिक मोडलका रूपमा उभ्याएको छ । कम्पनीले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वातावरण, अर्थतन्त्र र नीतिगत व्यवस्थाबीच सन्तुलन कायम गर्दै 'हरित उत्पादन, उच्च मुनाफा' भन्ने अवधारणालाई व्यवहारमा उतारिरहेको जनाएको छ ।

Share News