शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सव सम्पन्न, नयाँ भवन र अत्याधुनिक एमआरआई सेवा सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले एक विशेष समारोहबीच आफ्नो ४३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकै अवसरमा विस्तारित सेवा भवनको उद्घाटन गर्नुका साथै १५ शय्याको ’इमर्जेन्सी ग्रिन एरिया वार्ड’ र अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवा पनि सञ्चालनमा ल्याइएको छ ।

समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यले आगामी वर्षभित्र ’रेडियोथेरापी’, ’बोनम्यारो प्रत्यारोपण’ र फार्मेसी सेवा विस्तारजस्ता महत्त्वपूर्ण सेवाहरू सुरु गर्ने लक्ष्य रहेको बताए । 

डा. आचार्यले गत आर्थिक वर्ष वि.सं. २०८० वैशाखदेखि चैतसम्म) को तथ्याङ्क प्रस्तुत गर्दै उक्त अवधिमा ५ लाख ३२ हजार ४२० जनाले ओपिडी सेवा र ४६ हजार ७६१ जनाले आकस्मिक सेवा लिएको जानकारी दिनुभयो। सोही अवधिमा २१ हजार १०६ वटा सफल शल्यक्रिया सम्पन्न भएका छन् ।

उनका अनुसार अस्पतालमा दैनिक २ हजार २ सय देखि २ हजार ५ सय बिरामी ओपिडीमा र १ सय ४० देखि १ सय ५० जना आकस्मिक कक्षमा आउने गरेका छन् । हालसम्म ९ सय  मिर्गौला र १९ वटा कलेजो प्रत्यारोपण भइसकेको छ ।

अस्पतालमा हाल ५८ आईसीयू, ९७ एचडियुसहित कुल १,०५० शय्या सञ्चालनमा छन् । विपन्न तथा असहाय नागरिकका लागि ६३ शय्या निःशुल्क छुट्याइएको छ भने वार्षिक करिब २० हजार बिरामीले डायलासिस सेवा लिइरहेका छन् । 

वि.सं. २०३८ मा स्थापित त्रिवि शिक्षण अस्पतालले २०४० असार ३० गतेदेखि ओपिडी सेवा सुरु गरेको थियो । 

Share News