काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले एक वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकलले सन् २०२४ मा ९२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।
प्रसाईको मेडिकलले सन् २०२३ मा ८१ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब १९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
यस्तै, कम्पनीले सन् २०२१ मा ८१ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ५३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेजले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट साढे ३ अर्ब रुपैयाँ ऋण लिएका छन् । बी एण्ड सी मेडिकलले दीर्घकालिन ऋण ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ र अल्पकालिन ऋण १० करोड रुपैयाँ गरी कुल ३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ ऋण लिएका छन् । कम्पनीले सुरुमा २ अर्ब ७९ करोड १२ लाख रुपैयाँ ऋण लिएका थिए ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई दीर्घकालिन ऋणका लागि सिङ्गल बी प्लस र अल्पकालिन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ ।
विवादित व्यवसायी प्रसाईलाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य नाइके भएको आरोपमा प्रहरीले प्रक्राउ गरि अनुसन्धान गरिरहेको छ । प्रसाईंकै उक्साहटमा चैत १५ गते तीनकुने घटनामा परेर दुई जनाको निधन भएको थियो भने दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए । विभिन्न निजी तथा सरकारी सम्पत्तिमा आगजनीसँगै लुटपाट पनि भएको थियो ।
तिनकुने घटना हुनुअघि प्रसाईंले अराजक किसिमका अभिव्यक्ति दिँदै आएका थिए । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि नतिर्न उर्दी जारी गर्दै आएका थिए । साथै, बैंकरलाई जहाँ भेट्यो त्यहीँ कालो मोसो दल्ने अभिव्यक्ति दिँदै आएका थिए ।