काठमाडौं । काठमाडौंमा सञ्चालन रहेको फर्टिलिटी सेन्टरले किशोरीबाट अवैध रुपमा डिम्ब लिइरहेको फेला परेपछि स्वास्थ्य मन्त्रालयले छानबिनमा चासो देखाएको छ । निसन्तान उपचार केन्द्रका नाममा खोलिएका इनभिट्रो फर्टिलाइजेशन सेन्टरका विषयमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा.ज्वला थापाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ ।
जसमा डा. सुनिता लम्साल र कानुन अधिकृत शुरेस चौलागाइ सदस्य रहेका छन् । यो समितिले यस विषयमा अनुसन्धान गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बबरमहलमा रहेको होप फर्टिलिटी डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनकले किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब लिइरहेको कुरा बाहिर आएपछि मन्त्रालयले यो विषयमा छानबिन गर्न समिती बनाएको हो ।
होप फर्टिलिटीले किशोरीलाई १० हजार रुपैयाँ दिएर डिम्ब लिएको र १९ लाखमा किनबेच गर्ने गरेको उजुरी परेपछि सिआइबीले सञ्चालक सहित ५ जना चिकित्सक र कर्मचारीलाई फक्राउ गरेको थियो । अदालतले थुनमा नराखेर अनुसन्धान अगाडि बढाउन भनेपछि केन्द्रिय अनुसन्धान ब्युरोले उनीहरूलाई जमानतमा छोडेको थियो ।
मन्त्रालयले एन्जल फर्टिलिटी क्लिनिकमाथि पनि गुनासो आएको भन्दै त्यसको पनि छानविन गर्ने जनाएको छ । समितिले पाँच दिन भित्र यो विषयमा अनुसन्धान गरेर प्रतिबेदन बुझाइसक्नुपर्ने छ । सिआइबीले पनि यो विषयमा आफ्ने अनुसन्धान जारी रहेको जनाएको छ । ब्युरोका अनुसार होप फर्टिलिटीले १८ वर्ष मुनिका किशोरीलाई १० देखि १५ हजार दिएर इन्जेक्सन मार्फत डिम्ब निकाल्ने गरेको पाइएको बताएको छ ।