‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल

काठमाडौं । वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ । 

अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराएका हुन् । हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन । 

७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरू समस्यामा पर्ने कुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको उनले बताए । 

अस्पतालले ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अप्ठ्यारो भएको महसुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको शर्माले जानकारी दिए ।

ओपिडी काउन्टर थपी प्रतीक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपी निर्माणको योजना बनाएको पनि उनले बताए ।

निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेकोमा जोड दिए । 

उनले एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गरे । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि  बढाउन पनि उनको माग छ । 
 

Share News