देशमा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शनिबार काठमाडौंमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे । उनले भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली रहेको बताए ।

करोडौँ पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको बताए । मन्त्रीहरुले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उनको निष्कर्ष छ । 

उनले भने, ‘आज देशमा भ्रष्टाचारले सीमा नाघिरहेको अवस्था छ । किन भ्रष्टाचार हुन्छ, त्यो भ्रष्टाचारलाई उन्मुलन गर्नुपर्छ । भ्रष्टाचारीको आँखै हेर्दिन जस्ता अनेकौँ कुराहरु भनिइरहिएको छ । मुखै हेर्दिन भनिएको छ । यसको मुख्य कारण भनेको एउटा निर्वाचन प्रणाली हो । जसमा प्रत्यक्ष निर्वाचनमा करोडौँ पैसा खर्च गरेर जितेर आउने, सावाँ ब्याज चाहीँ सांसद मन्त्री भएपछि विभिन्न पालिकाका, मेयर, अध्यक्ष वा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु भएपछि असुल्ने प्रवृत्तिले गर्दा यो समस्या जन्मिएको छ ।’

अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै अहिले फलानो राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्नेमा बहस भइरहेको बताए । एउटा नेता परिवर्तन हुने कुराले खासै फरक नपार्ने तर एजेण्डा लिएर अघि बढ्दा राम्रो हुने बताए । अहिलेको संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने जानकारी दिए ।

Share News