‘नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु लिन सकिन्छ’

काठमाडौं । निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउनसकेको र १० हजार मडिकल विद्यार्थीलाई ल्याउनसके ५० अर्ब रेभिन्यु भित्र्याउन सकिने बताए । अहिलेको नेपालको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्नसक्ने बताए । अझ दुई चरणमा अध्ययन गराउनसके फाइदा हुने उनको भनाइ छ ।

मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन मद्दत पुग्ने उनको भनाइ छ । मेडिकल विद्यार्थीका लागि कोटा सिस्टम खोलिदिनुपर्ने उनको भनाइ छ । साथै अनलाइन एप्लिकेसनको व्यवस्था हुनुपर्ने जानकारी दिए । 

उनले भने, ‘५ हजार विदेशी विद्यार्थी अहिलेको मेडिकल पूर्वाधारले धान्छ । त्यसमा डबल सेसन गरिदिनुपर्छ । संसारभर डबल सेसन पढाइन्छ । सरकारी अस्पतालमा पनि डबल सेसन गर्ने हो भने आन्तरिक रुपमा आर्थिक रुपमा पनि सबल हुन्छ । देशमा पनि अन्तरिक पर्यटक, मेडिकल पर्यटकले ठूलो टेवा पुग्छ । थोरैमा पाँच हजार र धेरैमा १० हजार विद्यार्थी ल्याउनसक्छौँ ।’ 

नेकपा एमाले सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारले कति लगानी गरेको छ ? र कसरी अझ प्रभावकारी बनाउने भन्नेबारेमा सोच्न जरुरी रहेको बताइन् । लगानी प्रभावकारी रुपबाट कार्यान्वयन गर्न जरुरी रहेको बताइन् । 

उनल भनिन्, ‘हामीले नेपालको चिकित्सा शिक्षामा कति लगानी गरेका छाँै ? हामीले गरेको लगानी कति प्रभावकारी छ । हाम्रो लगानी प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छ की छैन ? अब हामी आगामी दिनमा यस्ता चिकित्सा शिक्षामा लगानी गर्ने क्रममा नेपाल सरकारले भुमिका कसरी बढाउने भन्ने हो । ’

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले नेपाललाई चाहिने मेडिकल जनशक्तिको अध्ययन गरी आवश्यक भन्दा बढी उत्पादन भए मात्रै बाहिर पठाउनुपर्ने बताए । नेपालले बाहिर जनशक्ति पठाउने भन्दा पनि बाहिरबाट विद्यार्थी ल्याएर चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताए । कसरी बाहिरबाट बढी विद्यार्थी ल्याउने भन्नेकुरा प्राथमिकतामा पर्नुपर्ने बताए । यसमा राष्ट्रले एउटा नीति बनाएरै अघि बढ्नुपर्ने जरुरी रहेको जानकारी दिए । 

उनले भने, ‘हाम्रो पोलिसीमा हामीलाई कति मेडिकल जनशक्ति चाहिने ? बाहिरबाट कसरी बढी विद्यार्थी ल्याउन सकिन्छ, त्यसलाई प्राथमिकता दिनुपर्छ । हामी बंगलादेश गएर पढिरहेका छौँ, किन जाने हामी ? किन रसिया, किन फिलिपिन्स जाने ? किन यहाँ पढ्न नपाउने ? त्यो कुरामा पनि राष्ट्रले एउटा नीति बनाउनुपर्छ । त्यत्तिकै एनओसी दिने पठाइदिने गरेर भएन । यहीँ रोक्ने व्यवस्था गर्नुपर्छ ।’

अध्यक्ष भुसालले नो अब्जेक्शन लेटर दिएर बाहिर पठाउने काम बन्द गर्नुपर्ने भन्दै यहीँ उपयोग गर्ने वातावरण बनाउन जरुरी रहेको बताए । 

Share News