हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव पानी परीक्षण स्थलमा

वीरगञ्ज । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीव्र रूपमा पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए ।

उनले भने, 'आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा मसहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।'

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजा रोगको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादवसहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक टोली हैजा प्रभावित क्षेत्रमा खटिएको छ ।

हैजा रोगको सङ्क्रमण भेटिएको क्षेत्रमा त्यहाँको खानेपानी परीक्षण र शुद्धिकरणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली तत्कालै खटाइएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, 'हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै भ्यानसहितको मोबाइल टोली खटाएका छौँ । पानी परीक्षण र शुद्धिकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।'

वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको थियो । हैजा रोगकै लक्षण देखिएका तर हैजा पुष्टि नभएका दुई जनाको शनिबार मृत्यु भएको जनाइएको छ ।

Share News