खानेपानीमा ढल मिसिँदा वीरगञ्जमा फैलियो झाडापखाला, दुईजनाको मृत्यु

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हैजाको प्रकोप फैलिएको छ । हैजाबाट दुईजनाको मृत्यु भएको छ भने १ सय २० जना अस्पताल भर्ना भएका छन् । जसमध्ये ४२ जनामा संक्रमण पुष्टि भएको वीरगञ्ज महानगरले जनाएको छ । 

महानगरका सूचना अधिकारी सुनिलकुमार कर्णका अनुसार खानेपानीमा ढल मिसिँदा हैजा फैलिएको हो । पालिकाको वडा नम्बर १२, १३ र १६ का विभिन्न ठाउँमा फैलिएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।

पर्साका सहायक प्रमुख सुमनकुमार कार्कीले हैजा फैलिएको जानकारी दिए । उनका अनुसार जिल्लाका सरकारी र निजी अस्पतालका साथै शिक्षण अस्पतालमा भर्ना हुनेको संख्या १ सय २९ पुगेको छ छ भने हैजा संक्रमितको संख्या ४२ पुगेको छ । 

त्यसमध्ये ११ जना आईसीयू तथा एचडीयूमा रहेको छ । गत २८ साउनदेखि नै झाडा पखलाका बिरामीहरू फाट्टफुट्ट रूपमा देखिए पनि हैजा पुष्टि भएको भने भदौ ५ गते हो । पानी शुद्धिकरण गर्ने, क्लोरिन हाल्ने काम जिल्ला स्वास्थ्य कार्यालय र महानगरले गरिरहेको छ ।

हैजाको प्रकोप देखिएपछि भने जिल्ला प्रशासनको विपद स्वास्थ्य सङ्कट व्यवस्थापन समितले काम गरिरहेको छ । उसले झाडा पखाला देखिएका बिरामीलाई पायक पर्ने अस्पतालले प्राथमिकता दिएर उपचार गर्नुपर्ने गरी समन्वय गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

Share News