कोशी प्रदेश : क्यान्सर, मिर्गौला लगायतका बिरामीलाई ८ करोड ८५ लाख सहायता वितरण

झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ । 

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।

क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०र ८१ मा दिएका निवेदनका आधारमा ५० हजार रुपैयाँ र एक लाख रुपैयाँका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए । 

उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई ५० हजार रुपैयाँका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई एक लाख रुपैयाँका दरले सहायता रकम वितरण गरिएको बताए । चालु आव २०८२/८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए । 

'यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन', सूचना अधिकारी राईले भने, 'आर्थिक रुपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरुको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरुबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।'

विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई दुई लाख रुपैयाँ र अन्य कडा खालका रोग लागेकालाई एक लाख रुपैयाँका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो । 

उनले विसं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए । प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९/८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो । रासस

Share News