अन्तरिम सरकार कसलाई बनाउने भन्ने विषयमा जेनबीच नै विवाद

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति जुटाएर नेपाली सेनाको जंगी अड्डा पुगेका युवाहरूबीच नेतृत्वको विषयमा विवाद चर्किएको छ ।

प्रधानसेनापति अशोक सिग्देलसँग वार्ता गर्न पुगेका युवाहरू नेपाली सेनाको मुख्यालय अगाडि आपसी भनाभनमा उत्रिएका हुन् ।

सेनाको मुख्यालय अगाडि भेला भएका युवाहरूबीच अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गम्भीर मतभेद देखिएको हो । 

केही समूहले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, कुलमान घिसिङ र सागर ढकाललगायतको  नाम अघि सारेका  छन् ।

अर्को समूहले सुशीला कार्कीको नाममा अडान लिएको छ।

‘हामी परिवर्तनका लागि आएका हौं, व्यक्ति विशेषका लागि होइन, यहाँ घुसपेठ भइरहेको छ,’ एक सहभागीले युवाले भने ।

यस्तै, अर्का युवा विकेश शाहले युवा नेतृत्व आउनुपर्ने बताउँछन् । केही युवाहरूले सुशीला कार्कीलाई नबनाउने बताए ।

यसअघि जेनजी पुस्ताले लामो छलफलपछि कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । तर सैनिक मुख्यालय पुगेको केही समयमै देखिएको विभाजनले सहमतिको स्थायित्वमा रूपान्तरण हुन अझै समय लाग्ने संकेत दिएको छ।

यसबीच प्रधानसेनापति सिग्देलले वार्ता टोलीलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

Share News