जेल फर्कने बेलामा रवि भन्छन् : ‘न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री पाएका छौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय प्राप्त हुने विश्वाससहित कारागार फर्कन लागेको बताएका छन् । उनले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएको भन्दै अब आफूलाई अन्याय नहुने आशा रहेको उल्लेख गरेका छन् ।

आज आफ्नो जन्मदिन परेको प्रसंग जोड्दै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनः कारागार पठाउन लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत लामो स्टाटस र भिडियो सन्देश जारी गर्दै भनेका छन्, 'पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुँदैन भन्ने आशा सहित म कारागार जाँदैछु ।'

नख्खु कारागारमा रहेका लामिछाने भदौ २४ गते जेनेरेशन जेड (जेन्जी) आन्दोलनका क्रममा बाहिर निस्किएका थिए। सुरुमा उनले आफू कारागार प्रशासनकै निर्णयअनुसार बाहिर निस्किएको दाबी गरेका थिए । तर, प्रशासनले उनलाई थमाएको भनिएको पत्रबारे औपचारिक जानकारी नदिएपछि यसबारे आलोचना बढेको थियो ।

आलोचना चर्किएपछि लामिछाने स्वयं कारागार फर्किन लागेका हुन् । उनले यस विषयमा अनावश्यक मिडियाबाजी भएको भन्दै आपत्ति पनि जनाएका छन् ।

Share News