युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु : प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् । 

प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरु नै जेनजी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारिन् । उनले आन्दोलनका क्रममा भएका क्षतिहरुको मूल्यांकन गर्दै सरकार अघि बढ्ने कार्ययोजना तय गरिएको पनि बताइन् । 

प्रधानमन्त्री कार्कीले भनिन्, ‘आगामी दिनहरुमा युवा पुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ । मलाई एकदम विचित्र लागेको छ–यो मुलुकमा यो जुन मुभमेन्ट आयो, यो वल्डमा कहीँ पनि भएको छैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन । त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराका मागहरु गरेको हुनाले त्यो पूरा गर्नलाई हामीले अठोट गर्नुपर्ने अवस्था छ । र, यी क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजनाहरु तय गरिएको छ ।’

प्रधानमन्त्री कार्कीले आफूले सो आन्दोलनको क्रममा ज्यान गुमाएका परिवारहरुसँग पनि भेटेको उल्लेख गर्दै उनीहरुको पीडालाई सम्बोधन गर्ने पनि बताइन् ।
 

Share News